Logo
१ मंसिर २०८१, शनिबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भित्रिन नदिन चितवन जिल्लामा उच्च सतर्कता अपनाउदैँ

चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ ।

जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमणदेखि हालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उनले जानकारी दिए ।

जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ ।

जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका ७ स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उनका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर उनीहरुसँग छलफल गरिँदैछ ।

प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिकरुपमा छलफल गर्न लागिएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए ।

यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उनले भने, “यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुप¥यो ।

” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ ।

जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका २ जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ देखिएको थियो ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्