प्रदेश सभाको बैठकमा बालअधिकार सम्बन्धी विधेयक पारित
‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेकी थिइन् ।
विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे ।
अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुनेछन् भनेका छन् ।यसअघि बैठकको शून्य समयमा सांसदहरुले कोभिड–१९ भाइरसबाट आम नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे बस्नेछ ।