Logo
८ माघ २०८१, मंगलबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माथिल्लो तामाकोसी अनुगमनमा कुलमान-‘जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन गर्नुपर्छ’

काठमाडौं : नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा निर्देशक घिसिङले कार्यतालिकाअनुसार काम गन, कामको गति बढाउन र तोकिएको सयमै काम सक्ने वातावरण तयार गर्ने निर्देशन दिएका छन् ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरेका थिए । ठेकेदार कम्पनीहरुले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमश : १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशस् ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।

कार्यकारी निर्देशक घिसिङले अगामी असारभत्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए । पहिलो युनिबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने छ ।

निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्री लगायतको गम्भीर चासो रहेको भन्दै घिसिङले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्ष भित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नु पर्ने बताए । सोहि क्रममा उनले आफूले जनाएका प्रतिबद्धता अनुसारका समय तालिकामा रहेर काम गर्न र आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न आफू संधै तयार रहेको बताए ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्