आजको संसद बैठक कांग्रेसले अवरोध नगर्ने, यस्तो छ सम्भावित कार्यसूचि
काठमाडौं : प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने भएको छ।
त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्नेछन्। संसद सचिवालयकाअनुसार बैठकमा कृषि मन्त्री भुसालले ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
यसअघि गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो। आजको बैठक भने स्थगित नहुने भएको छ।