अन्नबाली छाडेर कागतीखेती, पर्यटकको आकर्षण बन्दै आलुखेती
धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ ।
अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ ।
बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाउनुभएको हो । चार वर्ष अघिदेखि कागतीखेती शुरु गर्नुभएका भट्टराईले अब १०० बोट थप गरी ५०० बोट पु¥याउने लक्ष्य लिनुभएको छ ।
“राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु” भट्टराईले भन्नुभयो ।
कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उहाँले बताउनुभयो ।
“राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फले पनि ५०० बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसँग रु १० लाख त कमाउन सकिन्छ” उहाँले भन्नुभयो ।
उहाँले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाउनुभएको छ ।
रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागतीखेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/७६ मा स्थानीय जातका तीन हजार ५००, सुन कागती एक हजार ५०० बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करीब २४ जना जति कृषक कागतीखेतीमा आबद्ध रहेका छन् । कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिन्छ ।
बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।
पर्यटकको आकर्षण बन्दै सामूहिक आलुखेती
रामपुर नगरपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन समूहमार्फत लगाइएको आलुखेतीले पर्यटक लोभ्याएको छ । एक वडा एक उत्पादन कार्यक्रममार्फत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा छुट्टाएर आलुखेतीमा जोड दिइएको छ ।
यहाँ समूहमार्फत लगाइएको आलुखेती अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ । अहिले रामपुर आउने आन्तरिक पर्यटक आलुखेती अवलोकन गरेर मात्र फर्कने गरेका छन् ।
यहाँको आलुखेतीले चर्चा पाउन थालेपछि स्याङ्जा, तनहुँ, नवलपुरलगायतका विभिन्न स्थानबाट आलु हेर्न आउने आन्तरिक पर्यटकको चहलपहल रहेको नदी किनारा आयआर्जन कृषक समूहका सचिव सीता देवकोटा बताउनुहुन्छ ।
“दिनहुँ विभिन्न सङ्घसंस्था, समूह, व्यक्ति आलु अवलोकन गर्न आइरहनुभएको छ, आलु खेतमा पर्यटकको चहलपहल छ, समूहका एक÷दुई जना सदस्यहरु खेतमै बसेर पर्यटकलाई आलुखेतीबारे जानकारी गराइरहेका छौँ” उहाँले भन्नुभयो ।
नदी किनारा आयआर्जन महिला कृषक समूहले यसवर्ष नौ रोपनीमा पाँच क्विण्टल आलु लगाएको छ । गतवर्ष सात रोपनीमा लगाएको आलुले राम्रो उत्पादन भएपछि यो वर्ष व्यवसाय बढाएको अध्यक्ष भगवती देवकोटा बताउनुहुन्छ ।
वडा कार्यालयको बीउ अनुदान र विजयपुर कृषि सहकारीको समन्वयमा यहाँका कृषकले आलु लगाएका हुन् । आलु लगाउने प्रविधिसम्बन्धी खेतमै प्राविधिक सुविधा पाएपछि आलु फस्टाउँदै गएको छ ।
कृषकलाई खेतबारीमै पुगेर आलु लगाउने, गोडमेल, मलबीउको प्रयोग सिँचाइ गर्ने तरिकाबारे जानकारी दिने गरेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।
वडा कार्यालयले यसवर्ष आलु महोत्सव गर्न आलुखेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्वीण्टल आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
कृषकले उत्पादन गरेका आलुले बजार नपाएमा शीत भण्डारमा राख्ने व्यवस्था वडा कार्यालयले नै गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।
रामपुरमा समूहमा लगाइएको आलुले पर्यटक तानिरहेको र कृषकको आलुखेतीमा उत्साह बढ्दै गएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ ।
यसवर्ष वडा कार्यालयको सहयोगमा १० समूह र ६८ जना कृषकले आलुखेती गरेका छन् । उन्नत जातको बीउ, प्राविधिक सेवा राम्रो पाएपछि सोचेभन्दा आलु राम्रो हुँदै गएको कँडेलबारी कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो ।