देशलाई लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ लान खोज्यो : नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्त विपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरेका छन् ।
नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताएका छन् । यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । उनले भने, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”
फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द भए पनि अहिले केही हदसम्म समाधान भएको बताएका छन् । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो ।
उनले भने, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताएका छन् ।