प्रतिनिधिसभा बैठक बस्दै, संसद अवरुद्ध पार्ने कांग्रेसको चेतावनी
काठमाडौं : आज दिउँसो १ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो ।
कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो ।
कांग्रेसले आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले गच्छदामाथि राजनीतिक पतिशोध साँध्नेगरी भएको निर्णयको विरोधमा सदन अवरुद्ध पार्ने निर्णय गरेको जानकारी दिइन् । गच्छदारमाथि लागेको आरोपको विरुद्धमा डटेर सामाना गर्ने चेतावनी कांग्रेसले दिएको छ ।
ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेको छ ।
आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरिने कार्यसूचीमा उल्लेख छ ।
यस्तै आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र कारागार विधेयक २०७६ पेश गर्ने कार्यसूची छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसासले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७६ पेश गर्नेछन् ।
यस्तै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय उत्पति भएको संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन)विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायतमन्त्री वसन्तकुमार नेम्बाङले बैठकमा राष्ट्रियसभामा उत्पति भएको ’नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्नेछन् ।