कांग्रेसलाई मन्त्री बास्कोटाको जवाफ -‘अदालतले सफाइ दियो भने सक्किगो नि’
काठमाडौं : सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।
मन्त्री बाँस्कोटाले उक्त विषय अब अदालतमा पुगेको र अदालतको फैसला अनुसार नै सरकारले काम गर्ने बताए । उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए ।
उनले कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट्याए । ‘भोलि हामी परेमा पनि जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ,’ उनले भने, ‘प्रमाण स्वीकार्नुपर्छ, तथ्य स्वीकार्नुपर्छ ।’ ‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ र !’ उनले भने, ‘अदालतले सफाइ दियो भने सक्किगो नि ।’ विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई आरोपितका रुपमा मुद्दा दायर गरिएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणको आधारमा नै मुद्दा दायर भएको बताए ।