नेपाल टेलिभिजनका पहिलो प्रस्तोता दुर्गानाथ शर्माको निधन
नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको छ।
केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो।
नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो। ‘उनको मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो,’ नेपाल टेलिभिजनका महाप्रबन्धक महेन्द्र बिष्टले भने।
नेपाल टेलिभिजनका निर्देशक राजु सिलवालका अनुसार गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि शर्मालाई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको र मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो।