आसन ग्रहण नगराइए र भाषण गर्न नदिए नेताहरु मुख फर्काउँछन् : उपेन्द्र यादव
सप्तरी : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
पार्टी संगठनमा देखा परेका समस्याबारे समीक्षा गर्दै अध्यक्ष यादवले संगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण गर्न दिए गाली गरेर समय बिताउने जस्ता समस्या देखिएको भन्दै उनले पार्टी सुदृढीकरण गर्नुपर्ने बताएका हुन् ।
राजविराजमा मंगलबार पार्टीले आयोजना गरेको सप्तरी जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले संगठनभित्र अनेक समस्या रहेको भन्दै त्यसको विश्लेषण गर्दै कार्यकर्तालाई निर्देशनसमेत दिए ।
प्रशिक्षणका क्रममा अध्यक्ष यादवले नेताहरुले आफलाई बढि नै मानसम्मानको अपेक्षा गर्ने गरेको बताए ।
उनले भने, ‘आसन ग्रहण नगराइए र भाषण गर्न नदिए मुख फर्काउने र चित्त दुखाउने धेरैलाई हेरेको छु । यसमा परिवर्तन गर्नु जरुरी छ ।’ उनले भने, ‘माइक समात्नेवित्तिकै अर्कामाथि मात्रै आरोप लगाउने धेरै हेरेको छु ।’
सोहि क्रममा यादवले नेताहरुमा अध्ययनको कमी रहेको बताउँदै प्रशिक्षण लिएर अध्ययन गरेमा मात्रै नेता बन्न सकिने भए पनि बिना अध्ययनकै नेता बन्न खोजिएको उनको भनाइ छ ।
आफ्नो पार्टीले विभिन्न पटक प्रशिक्षणको आयोजना गरे पनि नेताले पान चपाएर भाषण मात्रै दिने गरेको अध्यक्ष यादवले बताए । ‘हामी प्रशिक्षणको आयोजना गर्दा केही बेर त नेताहरु बस्छन्,’ उनले भने, ‘त्यसपछि चारैतिर हेरेर बाहिर निस्किन्छन् । अनि सडकमा पान चपाउँदै भाषण दिन्छन् ।’ ‘लामो लामो कुर्ता लगाएर मात्रै हुँदैन,’ उनले भने, ‘कसको कुर्ता कति लामो छ, त्यो ३ महिनापछि थाहा हुन्छ ।’