राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबार
कुशल व्यवस्थापनको माध्यमबाट असल शासन पद्धति कायम गरी आर्थिक–सामाजिक विकासमा सघाउँदै आएको नेपाल व्यवस्थापन सङ्घले आगामी शुक्रबार राजधानीमा राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर सोही दिन ३९औँ वार्षिक साधारणसभाका साथै राष्ट्रको सर्वोपरि हितका खातिर योगदान गरेका प्रशासकलाई राष्ट्रिय व्यवस्थापन पुरस्कार उपपराष्ट्रपति नन्दबहादुर पुनबाट प्रदान गर्ने जनाएको छ ।
शुक्रबार नै एशियाली देशका राष्ट्रिय व्यवस्थापन सङ्घहरूको छाता सङ्गठनका रुपमा रहेको एशियाली व्यवस्थापन सङ्घले नेपाल व्यवस्थापन सङ्घसँग मिलेर दक्षिण एशियाको सामाजिक–आर्थिक क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिलाई सम्मान गरिने भएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्मान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।