प्रधानमन्त्रीलाई भीम रावलको कडा जवाफ : ‘MCC इन्डो प्यासेफिककै अंग हो’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्य मन्त्रीहरूले एमसीसी इन्डो(प्यासेफिक रणनीतिको अंग होइन भनेर प्रष्टीकरण दिइरहेका बेला सांसद रावलले भने (एमसीसी) इन्डो प्यासेफिककै अंग भएको बताएका छन् ।
सांसद रावलले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका श्रृंखलाहरु अध्ययन गरेर बोल्न सुझाव दिए । आइतबार संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले भने, ‘रिपोर्टमा स्पष्ट शब्दमा कुनै ‘इफ’ ‘बट’ शंका नहुने गरी के लेखिएको छ भने, मिलिनियम च्यालेन्ज भनेको इन्डोप्यासेफिक स्ट्राटेजीको अंग हो । र, इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्नका लागि ल्याइएको हो भन्ने निर्विवाद छ ।’
एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग होइन भन्नेहरुलाई अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसअघिको २०१७ र त्यसपछिका अन्य सिरिजहरु अध्ययन गर्न उनले सुझाव दिए ।
नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएपछि सांसद रावलले एमसीसीबारे सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । सांसद रावललाई पार्टीले एमसीसीबारे नबोल्न निर्देशन दिएकाले नबोलेका हुन् कि भनेर कतिपयले शंका गरिरहेका बेला संसदीय समितिमा रावलले आफ्नो पूर्ववत भनाइ दोर्होयाएका हुन् ।
सांसद रावलले एमसीसीबारे संसदीय समितिहरुमा पनि अध्ययन र छलफल हुनुपर्ने बताए ।