Logo
४ मंसिर २०८१, मंगलबार
(February 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय कमिटी : विभिन्न ११ समूह नेताद्वारा प्रतिवेदन पेश गर्ने क्रम जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् ।

राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् ।

आज समूह-३ का नेता खिमलाल भट्टराई, समूह-४ का नेता जगन्नाथ खतिवडा, समूह-५ का नेता ठाकुर गैरे, समूह-७ का नेता पूर्णाकुमारी सुवेदी, समूह-१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसक्नुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् ।

यसैगरी आज नै समूह-१ बाट आनन्द पोखरेल, समूह-८ का नेता बिन्दा पाण्डे, समूह-१० का नेता महेश बस्नेत, समूह-११ का नेता राजेन्द्र राई, समूह-१४ का सुरेन्द्रकुमार कार्की र समूह-१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् ।

शुक्रबार समूह-२ बाट कमला रोका, समूह-६ बाट दीनानाथ शर्मा, समूह-१३ का नेता लेखनाथ न्यौपाने र समूह-९ का नेता भगवती चौधरीले आ-आफ्नो समूहको प्रतिवेदन पेश गर्नुभएको थियो । समूह नेताको प्रस्तुति सकिएपछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ ।

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १५ गतेदेखि शुरु भएको हो । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति: Feb 1, 2020

प्रतिक्रिया दिनुहोस्