Logo
३ आश्विन २०८१, बिहीबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स कतार र भारतबाट भित्रदै,रोजगारीका लागि खाडी देशमा बढि आकर्षण

नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनमा कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको उल्लेख छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार कुल रेमिट्यान्सको ५० दशमलव ३ प्रतिशत खाडी देशहरुबाट भित्रिने गरेको छ । यस अवधिमा यूएईबाट ४० अर्ब ८७ करोड, मलेसियाबाट २९ अर्ब ६६ करोड, अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएकाे छ ।

त्यस्तै कोरियाबाट ६ अर्ब १५ करोड, बेलायतबाट ५ अर्ब ४ करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अरु अन्यबाट १८ अर्ब ७ करोड रेमिट्यान्सत भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५/७६ मा मलेसियाबाट आउने रेमिट्यान्स घटेको छ । मलेसियासँग द्विपक्षीय सम्झौतापछि आउँदा दिनमा मलेसिया जानेको सङ्ख्याका साथै त्यहाँबाट प्राप्त हुने रेमिट्यान्स बढ्ने राष्ट्र बैंकको अनुमान छ ।

खाडी देशहरु र मलेसियाबाहेक अमेरिका, जापान र दक्षिण कोरियाबाट पनि धेरै रेमिट्यान्स भित्रिने गरेको छ ।आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५ दशलमव ३ प्रतिशत खाडी देशतर्फ गएका छन् भने खाडी देशबाट प्राप्त हुने रेमिट्यान्स कुल रेमिट्यान्सकाे झण्डै ५० दशमलव ३ प्रतिशत रहेको छ ।

रेमिट्यान्स नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसतभन्दा कम देखिए पनि भारत र बङ्गलादेशको भन्दा बढी लाग्ने गरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ ।

दुई सय डलरभन्दा कम रकम पठाउँदा अमेरिकाबाट सबैभन्दा बढी र मलेसियाबाट सबैभन्दा कम लागत लाग्ने देखिएको छ । अमेरिकाबाट दुई सय डलर पठाउँदा ५ दशमलव ४ प्रतिशत र मलेसियाबाट पठाउँदा ३ दशमलव ४ प्रतिशत लागत लाग्ने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य रहेका खाडी देशबाट नेपालमा रकम पठाउन मलेसियाभन्दा बढी लागत लाग्ने देखिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल भित्रिने रेमिट्यान्सको औसत लागत विश्वको औसत (६.८४ प्रतिशत) भन्दा कम रहेको छ ।

‘वैदेशिक रोजगारीमा गएका कामदारहरुले अमेरिकी डलर दुई सय वा त्योभन्दा कम रेमिट्यान्स पठाउँदा लाग्ने लागतमा कमी ल्याउन सके रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योगदान पुग्ने देखिन्छ’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएकाे छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्