बल्ने ढुंगाको प्रलोभनमा परे पूर्वसैनिक गुरुङ, आँखामा खुर्सानीको धुलो छर्केर लुटियाे ५० लाख
काठमाडौं : पूर्वसैनिक बच्चुराम गुरुङबाट ५० लाख लुटेर फरार भएका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले ४८ घण्टाभित्र पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।
माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।
उनीहरुले डाँका गरेको रकम बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किन्ने र घरायसी काममा खर्च गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाँका गरेको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।