सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि रिक्त सभामुख पदका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुने भएको छ । संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको हो ।
आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जानकारी दिएको छ।
त्यसपछि सभामुख चयनका लागि यही माघ १२ गते प्रतिनिधिसभामा चुनाव गर्ने कार्यतालिका छ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि गत असोज १४ गते उनले पदबाट राजीनामा दिएका थिए। त्यस दिनदेखि सभामुख पद रिक्त छ।
नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार चयनका लागि छलफल गर्दै छ। त्यसका लागि उसको संसदीय दल कार्यसमिति बैठक बस्दैछ ।
बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने सम्बन्धमा निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन्।
सभामुख निर्वाचन कार्यतालिका
माघ ७ गते (आज) : प्रतिनिधिसभाको कुनै माननीय सदस्यले प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वा्चित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने।
समय : बिहान ११ बजेदेखि २ बजेसम्म
स्थान : संघीय संसद भवन
निर्धा्रित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने
समय : दिउँसो २:३०
स्थान : सूचना पाटी संघीय संसद भवन