Logo
४ मंसिर २०८१, मंगलबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक बसमा जुम्रा, उपियाँ र उडुस !

रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।

त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छन् तर कति सम्भव होला रु

 

यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतंक भएको यात्रु बताउँछन् ।

उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, ‘अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।’

 

सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थपे, ‘बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।’

सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करीब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ ।

अधिकांश सवारीको झ्याल र ढोका बिग्रिएर कामचलाऊ अवस्था छन् भने हप्तामा १ दिन सफा गरेको पाइएको छैन । समात्ने डन्डी तथा ह्यान्ड कच टुटेको अवस्थामा फेला परेका छन् । गाडीहरूमा यात्रुमैत्री सुविधाको धेरै नै अभाव छ ।

त्यसैगरी सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन चालकको भूमिका महत्त्वपूर्ण हुने भएकाले अशोभनीय क्रियाकलाप, तुच्छ र अपशब्द प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

जुत्ता लगाएर सवारी चलाउन अनिवार्य गरिएको छ । सवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ ।

चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार प्रदर्शन गर्न बोली, व्यवहारका अतिरिक्त साथी सङ्गीहरूसँग कुरा गर्दासमेत सचेत हुनुपर्ने छ । ट्राफिक नियमको पूर्णपालना गरी यात्रुप्रति सेवाभाव राख्न सचेत गराइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्