समाजका अगुवा महिला नै छाउगोठमै बस्न बाध्य
कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ।
वडा नम्बर ६ बाट शुरूभएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ । टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् ।
टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन् । मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन् । वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ । तर, सामाजिक कुसंस्कारका कारण महिलाहरू छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन् ।
‘छाउ भएका वेला घरभित्र बस्दा देउता रिसाउने मान्यता छ । त्यसैले सासू–ससुराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि गोठभित्र बस्नुपर्छ ।’ साँघुरो घरमा छुट्टै कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले बताइन् ।
बान्नीगढी–जयगढ गाउँपालिका–५, स्थित आदर्श आधारभूत विद्यालयमा १२ वर्षदेखि पढाउँदै आएकी मिठु बोहराको घरनजिकै छाउगोठ छ । उनी महिनावारी हुँदा कहिल्यै घरभित्र पस्नसमेत पाएकी छैनन् । छाउपडीजस्ता सामाजिक कुसंस्कारविरुद्ध शिक्षा दिनुपर्ने उनी आफैँ महिनावारी हुँदा छाउगोठमा बस्छिन् । ‘भित्रै बस्न पाउनुपर्ने हो, तर परिवार र समाजले अवरोध गर्छ,’ बोहराले भनिन्, ‘समाजका सबै महिला छाउगोठमै बस्छन्, म मात्रै भित्र बस्दा समाजले के भन्ला भन्ने डर लाग्छ ।’
छाउ हुँदा छुट्टै बस्नु कुसंस्कार हो भन्ने बुझेका र यस्ता कुसंस्कार हटाउने अभियानमा लाग्नुपर्ने अधिकांश महिला नै छाउगोठबाट बाहिर निस्कन सकेका छैनन् । अझ, स्वास्थ्य स्वयंसेविकाहरू नै छाउगोठमा बस्छन् । वडा नं। ४ को स्वास्थ्य चौकी इन्चार्ज चन्दकला जैशी भन्छिन्, ‘हाम्रो वडामा १० जना महिला स्वास्थ्य स्वयंसेविका छन्, तीमध्ये नौजना छाउगोठमा बस्छन् ।’ स्वास्थ्य स्वयंसेविका कोही पनि छाउगोठमा नबस्ने र अरूलाई पनि नबस्न सचेत गराउने अभियानअन्तर्गत औपचारिक छलफल शुरूभएको उनले बताइन् ।
जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका आफैँले छाउप्रथा मान्दा यो कुसंस्कारविरुद्धको अभियानमा चुनौती रहेको अगुवा महिला बताउँछन् । ‘कुसंस्कारविरुद्ध लड्न नसक्दा कतिपय महिला जनप्रतिनिधि, शिक्षिका आफैँ छाउगोठमा बसिरहेका छन्,’ छाउपडी अन्त्यको अभियानमा सक्रिय पशुपति कुँवर भन्छिन्, ‘अब उहाँहरू नै अघि आउनुपर्छ । छाउपडी कुसंस्कार हो भनेर बुझेकाहरू नै गोठमा बस्दा चेतनाको कमी भएकालाई के भनेर बुझाउने रु’
।’ नयाँ पत्रिकामा खबर छ ।