पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा
पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिकाको कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरू गरी ७ तले दरबार (विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।
यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । पण्डित नेकपाबाट प्रतिनिधित्व गर्छन् ।
नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।