Logo
२ माघ २०८१, बुधबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमा आगोको मुस्लो देखिन्छ, बम पड्किएको आवाज सुनिन्छः इराकमा रहेका नेपालीको भोगाई

इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको सुनिन्थ्यो । ‘यो घरमा ५ जना साना बच्चा छन् । खाना खुवाउनै गाह्रो छ,’ उनी भन्दै थिइन्, ‘यिनीहरूलाई खाना खुवाइसकेपछि मालिकमालिक्नीलाई खुवाउनुपर्छ ।’ फोन गरेका बेला उनका ‘मालिकमालिक्नी’ बाहिर निस्किएका थिए ।

गत शुक्रबारदेखि इराकमा अशान्त वातावरण बनेको उनलाई थाहा छ । ‘छतमा लुगा सुकाउन र निकाल्न जाँदा सडकमा मान्छे कराइरहेको देख्छु । सडकमा आगोको मुस्लो देखिन्छ । बेलाबेला बम पड्किएको आवाज सुनिन्छ,’ उनले सुनाइन् । उनलाई मालिक्नीले इरानका ठूलो नेता मारिएकाले तनाव बढेको भनेकी छन् । ‘मालिक्नीले घरमा काम गर्दा कुनै डर हुँदैन, केही भए नेपाल पठाइदिन्छौं भनेर सम्झाइरहेकी छन्,’ उनले भनिन् ।

 

त्यही घरमा गोरखाकै मनमाया गुरुङ र फिलोपिनो युवती पनि काम गर्छन् । ‘भारत, श्रीलंका, यूएई हुँदै बग्दाद आइपुगेकी हुँ । असल श्रीमान् परिदिएको भए यस्तो देशमा किन आउनुपर्थ्यो रु’ मायाले भनिन्, ‘यहाँ अहिले मासिक ६ सय डलर तलब पाइरहेकी छु । काठमाडौंमा छोरीहरूलाई पढाउँदै छु ।’

माया इराकी भाषा बोल्छिन् । ‘इराकी टेलिभिजनमा आउने समाचार हेर्दा निकै डर लाग्छ । इरान र अमेरिकाबीच लडाइँ भए बग्दादमा क्षति पुग्छ भन्छन्,’ उनले भनिन् । उनलाई युद्ध सुरु भइहाले कसलाई गुहार्ने, कहाँ गएर बस्ने, कसरी नेपाल फिर्ने भन्ने तनाव छ । मनमायाले भने जे होला देखिएला भन्ने अवस्थामा रहेको बताइन् । दुई महिनाअघि मात्रै बिदामा नेपाल आई फर्केकी उनले भनिन्, ‘हामीलाई त सरकारले गैरकानुनी भन्छ । यहाँ त दूतावास पनि छैन ।’

 

छैन समन्वय
बग्दादमा नेपालीहरू तीन क्षेत्रमा काम गर्छन् । ग्रिन जोन, रेड जोन र घरभित्र । यी तीनवटा क्षेत्रमा काम गर्ने नेपालीबीचमा समन्वय र भेटघाट दुर्लभ छ । सरकारी कार्यालय, दूतावास र अमेरिकी सैन्य क्याम्पभित्र काम गर्नेहरू बाहिर निस्कनै पाउँदैनन् । रेड जोनमा रहेको होटलमा काम गर्नेहरू पनि भित्रै बस्छन् । घरेलु कामदारबीच पनि भेटघाट कठिन छ । ‘बाहिर काम गर्ने कोही कोही साथीसँग भेट हुन्छ,’ ९ वर्षदेखि बग्दादमा रहेका जीतमान गुरुङले भने, ‘हामी संगठित छैनौं ।’

सुरक्षित मानिएको इराकभित्रको अर्को राज्य कुर्दिस्तानमा भने केही नेपाली संगठित छन् । ‘बग्दाद क्षेत्रमा कति नेपाली छन्, कुन कम्पनीमा छन् रु सबै अनुमान हो । यकिन थाहा छैन । उनीहरू असंगठित छन् । दुई–चार जनासँग सम्पर्क हुने हो,’ गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले कान्तिपुरसित भने, ‘कुर्दिस्तानका अर्विल र सुलेमानी क्षेत्रमा रहेका नेपाली संगठित छन् ।’ गुरुङका अनुसार परिस्थिति बिग्रिएर उद्धार गर्नुपर्‍यो भने निकै जटिल छ ।

उद्धार संयन्त्र अभाव
सम्भावित खतरालाई मध्यनजर गरी सरकारले दरिलो उद्धार संयन्त्र बनाएको छैन । कुवेतस्थित नेपाली दूतावासले बग्दाद, अर्विल र सुलेमानी क्षेत्रमा रहेका केही नेपालीलाई मात्रै टेलिफोन सम्पर्क गरी पछिल्लो विवरण बुझिरहेको छ ।

नेपाल र इराकबीच बलियो कूटनीतिक सम्बन्ध छैन । ‘जतिखेर अप्ठ्यारो अवस्था आइपर्छ, त्यतिखेर मात्रै नेपाल सरकारले इराकमा रहेका नेपाली र इराकी निकायसँग सोधखोज गर्ने गरेको छ,’ एनआरएनए इराकका अध्यक्ष गुरुङले भने । सन् २०१४ मा इराकभित्र आन्तरिक द्वन्द्व चर्किंदा क्रिकुक र ट्रिक्रिट क्षेत्रमा रहेका नेपाली फसेका थिए । ८ नेपालीलाई उद्धार गर्न ठूलो समस्या परेको थियो । ती नेपाली आफ्नै प्रयासले कुर्दिस्तानभित्र प्रवेश गरेपछि मात्रै सरकारले नेपाल फिर्ता गरेको थियो । ‘इराकको प्रशासनिक निकाय बुझ्नै कठिन छ । सुलेमानीबाट अर्विल पुग्नुपर्‍यो भने ८ वटा सुरक्षा पोस्ट पार गर्नुपर्छ । एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा भिसा चाहिन्छ । अहिलेको अवस्थामा त भिसा पाउनै कठिन छ । वातावरण बिग्रियो भने भिसा पाउनै समस्या छ,’ उनले भने ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्