Logo
१९ पुस २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थशास्त्रीहरूको पेसागत संगठन नेपाल आर्थिक संघको अध्यक्षतामा डा प्याकुरेलको चयन

नेपाल आर्थिक संघको २९औं वार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

नेपालका अर्थशास्त्रीहरूको एकमात्र पेसागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमूलक कार्यमा संलग्न हुँदै आएको छ ।

संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समयसमयमा स्वतन्त्र रूपले परामर्श दिँदै आएको कुरा संघका नव निर्वा्चित महासचिव गोपाल तिवारीले बताए ।

नेपालका वरिष्ठ अर्थशास्त्रीहरू, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।

उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्व राजदूत वरिष्ठ अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरूलाई आर्थिक नीति तथा कार्य्विधिहरूमा नयाँ दृष्टिकोणसहित पेस हुन सक्ने बनाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रूपमा संघलाई परिचालित गरिने कुरा समेत उनले व्यक्त गरे।

आगामी कार्यक्रमका रूपमा देशका सातै प्रान्तमा राष्ट्रिय आर्थिक मुद्दाहरू तथा वित्तिय सङ्घीयता सम्बन्धी विषयहरूमा प्रान्तस्तरीय संवादहरू सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने कुरा संघका नवनिर्वा्चित महासचिव तिवारीले बताए ।

संघका अध्यक्ष प्रा.डा. प्याकुरेलले नेपाल आर्थिक संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए ।
कार्यक्रममा सहभागि हरूले संघ दरिलो थिंक ट्याङ्कको रूपमा विकसित हुँदै गइरहेको तथा यसको शाखा विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्य समितिले उक्त शाखा विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नुपर्ने बताए ।

संघको नवनिर्वा्चित कार्य समितिमा प्रा.डा. विश्वम्भर प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपालप्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा डा शान्ता सिंह कोषाध्यक्ष रहेका छन् ।

अन्य कार्यसमिति सदस्यहरूमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा पोषराज पाण्डे, प्रा.डा शिवराज अधिकारी, प्रा.डा. माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् ।

साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्