Logo
३ आश्विन २०८१, बिहीबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव हारेका कमरेडकाे अनौठो चर्तीकला : संविधान संशोधन गरेरै बामदेवलाई प्रधानमन्त्री हुनुपर्ने

प्रत्यक्ष चुनावमा जनताबाट जनप्रतिनिधि बन्न अस्वीकार शत्तारूढ दलका दुई प्रभावशाली नेताले अनौठो चर्तीकला देखाएका छन ।

नेकपा संचिवालय बैठकमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने विषयमा गम्भीर छलफल चल्दा संविधान संशोधन गरेरै भए नि अाफुलाई प्रधानमन्त्री बनाउनुपर्ने बामदेवकाे अडान थियो भने, नारायणकाजीले सांसद पद मागे ।

तर, गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो सुनिश्चितता गर्नुपर्ने सर्त राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष प्रचण्डले अस्वीकार गरे । ‘ससर्त उम्मेदवार बनाउन सकिन्नँ’ भन्दै नेतृत्वले उनको माग अस्वीकार गर्‍यो । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका अर्का सचिवालय सदस्य श्रेष्ठ भने उम्मेदवार बन्न सहजै तयार हुँदा उनले सांसद पद पाउने भए ।

स्रोतका अनुसार राष्ट्रिय सभा उम्मेदवार छान्न बसेको नेकपा सचिवालय बैठकमा सुरुमै अध्यक्षद्वय ओली र प्रचण्डले गौतम तथा श्रेष्ठलाई राष्ट्रिय सभामा जान प्रस्ताव गरेका थिए । दुई अध्यक्षको प्रस्ताव आएलगत्तै गौतमले आफ्नो सर्त अगाडि सारेका थिए । सचिवालयका एक सदस्यले गौतमको भनाइ उद्धृत गर्दै उनले भने, ‘मलाई सांसद मात्रै बन्नु छैन । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन भए म जान्छु, नत्र जान्नँ ।’

गौतमले सार्वजनिक रूपमै पनि संविधान संशोधन भए मात्र आफू राष्ट्रिय सभामा जाने बताएका थिए । गौतमले राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बन्ने सुनिश्चित गर्न नसके प्रतिनिधिसभामा जाने बाटो तयार गरिदिन माग गरेका थिए ।

प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । स्रोतका अनुसार गौतमको सर्तपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको जवाफ थियो, ‘त्यसो भए तपाईं नजानुस् । ससर्त जाने भन्ने हुँदैन ।’

यद्यपि, बैठकमा अर्का अध्यक्ष प्रचण्डको भनाइ थियो, ‘पहिला नै सर्त राखेर राष्ट्रिय सभामा जाने भन्ने हुँदैन । तपाईं पहिला जानुभयो भने संविधान संशोधनका लागि प्रयत्न गर्न सकिन्छ । अनुकूल भए संविधान पनि संशोधन होला । अहिले नै यही हुनुपर्छ नभन्नुस् ।’ त्यसपछि राष्ट्रिय सभा जाने गौतमको विकल्पमाथिको छलफल त्यहीँ रोकिएको थियो ।

गौतमपछि बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले राष्ट्रिय सभामा जाने विषयमा पार्टी प्रवक्तासमेत रहेका श्रेष्ठको धारणा जान्न चाहेका थिए । स्रोतका अनुसार जबाफमा श्रेष्ठले भनेका थिए, ‘मेरो कुनै चाहना पनि छैन र सर्त पनि । यदि पार्टीले निर्णय गरे जान्छु । पार्टीको नीति कार्यान्वयनमा संसद्मा बसेर प्रभावकारी भूमिका खेल्छु ।’ नेकपा उच्च स्रोतका अनुसार श्रेष्ठ सांसद हुँदै सरकारमा जान चाहन्छन् । प्रचण्डनिकट स्रोत भन्छ, ‘उहाँ (श्रेष्ठ)को मन्त्री बन्ने चाहना छ ।’

नौ सदस्यीय नेकपाको सचिवालयमा गौतम र श्रेष्ठ मात्र सांसद छैनन् । त्यसैले नेकपामा उनीहरूलाई सांसद बनाउने चर्चा हुँदै आएको छ । ०७४ मंसिरमा भएको संघीय चुनावमा तत्कालीन एमालेका उपाध्यक्ष गौतम बर्दिया–१ बाट र माओवादीका उपाध्यक्ष गोरखा–२ बाट पराजित भएका थिए । नेता गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए । कांग्रेस बर्दिया जिल्ला सभापतिसमेत रहेका सञ्जयले ४४ हजार आठ सय २९ मत ल्याएका थिए ।

नेता गौतमले भने ४४ हजार ७६ मत पाएका थिए ।पछिल्लोपटक गौतमलाई ओली र प्रचण्डले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ मा चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, गौतमले अन्तर्घातको खतरा रहेको र चुनाव हारिने भन्दै आफू कास्की–२ बाट चुनाव नलड्ने सोसल मिडियामा स्ट्याटस नै लेखेका थिए ।

त्यसअघि डोल्पाका धनबहादुर बुढा र काठमाडौं–८ का रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई चुनावी मैदानमा उतार्नेसम्मको चर्चा भएको थियो । तर, पार्टीभित्रको शक्तिसंंघर्षले गौतमलाई डोल्पा र काठमाडौंबाट चुनाव लड्ने अवस्था पनि तयार भएन ।

राष्ट्रिय सभाका लागि निर्वाचन हुन लागेको १८ सिटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १६ सांसद पक्का भएका छन् । शुक्रबार नेकपाले उम्मेदवार टुंग्याएको छ । ९ माघमा हुने चुनावी प्रक्रियाबाट औपचारिकता प्राप्त गर्दै उनीहरू सांसद बन्नेछन् । नेकपाले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको छ । आगामी ९ माघमा १८ सिटका लागि निर्वाचन हुँदै छ ।

६ वटा प्रदेशमा नेकपाको स्पष्ट बहुमत छ, प्रदेश २ मा पनि राजपासँग तालमेल गरेका कारण कांग्रेस यो निर्वाचनमा लगभग शून्य हुने सम्भावना छ ।

शुक्रबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । प्रदेश २ का चार सिटमध्ये राजपालाई दुई सिट दिने गरी तालमेल गरिएको छ ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्