सिद्धबाबाबाट बलात्कृत महिलालाई श्रीमान्ले ढाडस दिए
गत मंसिरको मध्यतिर भेट्दा नै अदालतप्रति उनको भरोसा भास्सिइसकेको थियो । उनले मलाई बारम्बार भनिरहिन्, ‘उसको पहुँच माथिसम्म छ, मलाई न्याय मिल्दैन ।’ मैले दोहोर्याइरहें ‘तपाईंले पेस गर्नुभएको प्रमाण र उनैले स्विकारेको गल्तीका कारण पीडकलाई सजाय हुन्छ ।’
काठमाडौंको उनकै डेरामा यो भलाकुसारी गर्दा ‘सिद्धबाबा’ नामले चिनिने पीडक मोरङको विराट नर्सिङ होममा आराम गरिरहेका थिए । पीडितले उजुरी दर्ता गरेको जानकारी पाउनेबित्तिकै उनी ‘बिरामी’ भएर त्यहाँ पुगेका थिए । पछि तीन लाख धरौटीमा थुनाबाट होइन, अस्पतालबाट निस्किए ।
अदालत र पुलिस प्रशासन नै शंकाको घेरामा पर्ने गरी भएको यो आदेशको खबर बाहिरिएपछि मैले फेरि एकपटक उनको उही पीडा, उही आँसु र उही साहसलाई सम्झिएँ र फोन गरें, फोनमा पनि भेटमा जस्तै उनलाई दिनका लागि मसँग ढाडसबाहेक अर्को कुरा थिएन । उनीसँग यसपटक प्रहरी र न्यायालयप्रति गुनासो मात्रै बाँकी रहेछ ।
सम्भवतः अबको यात्रा झन् कठिन छ भन्ने सोचेर उनले भनिन्, ‘म पोलिग्राफ बयानका लागि तयार छु, पीडकसँग पनि त्यसै गरियोस् ।’ उनका हरेक आधारलाई कमजोर बनाउने गरी नयाँ–नयाँ प्रपञ्चहरू रचिएपछि उनी यो विकल्पका लागि पनि तयार भएकी हुन् ।
साथीहरूले जतिखेर पनि गुरुकै कुरा गर्न थाले । भेटमा योग, साधना, भक्तिभावबाहेक कुरै हुन छोड्यो । सानैदेखि धर्मकर्ममा विश्वास गर्ने उनी साथीहरूको कुराले लोभिइन् ।
काठमाडौं सोह्रखुट्टे बस्ने उनलाई बालाजुमा रहेको आश्रम उति टाढा थिएन । त्यसमाथि दिनभरि श्रीमान् काममा र साना छोराहरू स्कुल गएपछिको फुर्सदिलो समय गुरुको प्रवचन सुनेर कट्ने कुराले उत्साहित नै थिइन् । त्यसैले गत वर्ष वैशाखदेखि उनी बालाजुस्थित आश्रम धाउन थालिन् । कहिले चतराधामबाट मुख्य गुरु ‘सिद्धबाबा’ यतै आउँथे, कहिले बालाजुकै गुरु विश्वप्रकाश पण्डितले साधना गराउँथे ।
उनमा मात्रै होइन, ‘भक्तिभाव’ उनका श्रीमान्मा पनि जाग्यो । उनीहरू सिद्धबाबाका परम भक्त भए, सँगसँगै आश्रम जान थाले । कोठामा अरू भगवान्हरूसँगै सिद्धबाबाको पनि तस्बिर राखेर पुज्न थाले ।
जतिखेर पनि योग, साधना, भक्ति र सिद्धबाबाको मात्रै गुणगान हुने परिवेशमा उनीहरू मात्रै होइन, धेरै भक्तजन सिद्धबाबालाई भगवान्कै रूपमा लिन्थे र उनको पाउमा घप्लक्कै शिर निहुराइदिन्थे । सिद्धबाबा बासनाबाट उपासनातिर जानुपर्छ भन्थे, आगो र स्त्रीलाई छुँदै छुन्न भन्थे ।
अरू पनि मीठा–मीठा कुरा गर्थे, जसका कारण भक्तजन मोहित थिए । आश्रमका अग्रजहरू जतिखेर पनि गुरुलाई नै सम्झिनु, उनकै नाममा कविता लेख्नु, उनकै आराधना गर्नु, उनकै गीत गाउनु भनेर उर्दी गरिरहन्थे । त्यही माहोलमा अभ्यस्त भइसकेकी उनी पनि भगवान् भनेकै सिद्धबाबा हुन् भन्ने निचोडमा पुगिसकेकी थिइन् ।
गत असोजको अन्तिम साता चतराधाम आश्रमबाट भक्तजनहरूलाई पाथीभरा दर्शनका लागि लैजाने खबर आयो । उनलाई पनि जान मन लाग्यो, श्रीमान्सँग सल्लाह गरिन् र सुनसरीको चतरा पुगिन् । त्यहाँबाट करिब २ सय ५० जना भक्तजनलाई पाथीभरा दर्शनका लागि लगियो । त्यसको अगुवाइ उनै सिद्धबाबाले गरे । पाथीभरा पुगेपछि बाबासँग उनको छोटो कुराकानी भयो । उनका अनुसार सिद्धबाबाले एक्लै आयौ कि श्रीमान्सित भनेर सोधेका थिए । उनले एक्लै आएको बताएकी थिइन् । टोली कात्तिक १ गते सुनसरीको हनुमान मन्दिर आश्रममा फर्कियो । ‘फर्किंदा नै गुरुले आश्रममा धेरै काम भएकाले केही दिदीबहिनी सेवाका लागि दुई–चार दिन यहीं बस्नु भनेका थिए,’ उनले भनिन्, ‘त्यसमा म पनि परें ।’
सिद्धबाबा आफ्ना अनुयायीसँग फेसबुकमा जोडिएका थिए । अनुयायीहरूले सोधेका प्रश्नको जवाफ म्यासेन्जरमै दिन्थे । चतरा जानुअघि उनले पनि बेलाबखत म्यासेन्जरमा गुरुसँग कुरा गरेकी थिइन् । पछि तिनै कुरालाई लिएर उनीमाथि चौतर्फी दबाब र प्रहार पनि भए । उनलाई मानसिक सन्तुलन बिग्रिएकाले त्यसो गर्न थालेको आक्षेप लगाइयो । सिद्धबाबाका अनुयायी र कुरा नबुझी धारणा बनाउनेहरूको चेपुवामा परिन् उनी
।
‘।।।अनि त्यो घटना कसरी भयो रु’ सायद मैले उनको घाउ बल्झाइदिएँ, उनी एकछिन मौन रहिन् । त्यसपछि उनको ओठबाट निस्किएको घटनाको बयान र आँखाबाट झरेको आँसुको गतिले प्रतिस्पर्धा गरिरहे, म एकटकले उनलाई हेरिरहें ।
कात्तिक ३ गते साँझ उनी आश्रमको काम सकेर बाहिर टहलिँदै थिइन् । सिद्धबाबासँग जम्काभेट भयो । उनले मोबाइल नम्बर मागे, उपयुक्त समयमा दर्शन दिन्छु भने । उनी खुसी भइन् । किनभने श्रीमान्ले पनि आश्रम पुगेका बेला एक–दुई दिन बढी बसेर भए पनि गुरुलाई भेटेरै आऊ भनेका थिए । उनी दिनभरिको कामले थकानमा थिइन्, झपक्कै निदाइछन् । त्यही राति साढे ११ बजे फोन आएको रहेछ, थाहा पाइनन् । म्यासेन्जरमा गुरुले ‘किन चुपचाप’ भनेर म्यासेज पनि छोडेका रहेछन् । त्यो पनि भोलिपल्ट ब्युँझिएपछि मात्रै देखिन् । ‘निदाइसकेकाले थाहा पाइनँ गुरुदेव’ भनेर जवाफ पठाइन् ।
कात्तिक ४ गते राति साढे ११ बजे उनको म्यासेन्जरमा सिद्धबाबाको फोन आयो । संयोगले त्यो रात उनी जागै थिइन् । फोन उठाइन् । उनलाई राति १२ः२० मा कुटीमा बोलाए । यति राति गुरुले किन बोलाउनुभयो भन्ने प्रश्न उनको मनमा नआएको होइन तर ‘भगवान् त जतिखेर पनि सक्रिय हुन्छन्’ नि भन्ने भावले जित्यो । स्त्री र आगो छुन्न भन्ने गुरुको संकल्पका कारण उनी ढुक्क थिइन् । आफूले मानिरहेको आस्थामाथिको भरोसाले उनलाई मध्यरातमा सिद्धबाबाको कोठासम्म पुर्यायो ।
त्यो समयको उनको स्मृतिले भन्छ– उनी गुरुका अघिल्तिर नतमस्तक भइन् । अरू भक्तजनले जस्तै आफ्नो शिर गुरुको खुट्टामा लगेर ठोकाइन्, ‘आशिष’ थापिन् र भुइँमा थुचुक्क बसिन् । सोफामा बसेका बाबाले उनको टाउकोबाट ‘स्पर्श’ सुरु गरे । तर जब संवेदनशील अंगहरूमा बाबाका हात सलबलाउन थाले, उनी झस्किइन्, तर्किइन् र भनिन्, ‘गुरु म यस्तो गर्न आएको हैन ।’ जसै उनले प्रतिरोध गर्न थालिन्, बाबाले उनलाई एक चड्कन हाने र चर्को स्वरमा नबोल्न उर्दी जारी गरे ।
‘यहाँ साधु–महात्माहरू छन्, चर्को स्वरमा बोलेर हल्ला नगर्,’ उनी त्यो बेला सिद्धबाबाले भनेको कुरा सम्झिन्छिन्, ‘भगवान्सँग साक्षात्कार गर्ने मौका पाएकी छेस्, यसको सदुपयोग गर् ।’
कुरा त्यतिमै मात्र पनि रोकिएन । ‘त्यसपछि उसले मलाई जबर्जस्ती अठ्याएर सोफामा लग्यो र बलात्कार गर्यो,’ उनले भनिन्, ‘मैले धेरैपटक उसको हात हटाउने प्रयास गरें तर निरीह भएँ ।’ यो राति १२ः२० देखि १ः१५ बीचको समय थियो । त्यसपछि बाबाले भने, ‘भगवान्सँग साक्षात्कार भनेको यही हो, यसबारे बाहिर कसैलाई भनिस् भने तेरो श्रीमान् र बच्चाहरूमाथि अनिष्ट हुन्छ ।’ यस्तो साक्षात्कार भक्तभन्दा पनि भगवान्को इच्छामा हुने तर्क गर्दै बाबाले भने, ‘मेरो इच्छा थिएन भनिस्, म तँसँग रुष्ट छु ।’
उनी त्यहाँबाट दुईवटा प्रश्न बोकेर बाहिर निस्किइन् । एक– जुन कुरा मेरो श्रीमान्सँग भइरहेको छ, त्यही कुरालाई भगवान्सँगको साक्षात्कार भन्न कसरी मिल्छ रु दुई– भगवान्ले भक्तको इच्छाविपरीत जबर्जस्ती पनि गर्न सक्छ रु
‘मलाई बाँच्न पनि मन लागेन,’ उनी भन्छिन् । सायद त्यसै कारण कात्तिक ५ को साँझपख उनी कोसी किनारमा गएर धेरै बेर टोलाइन्, जलिरहेको शव हेरिन् । त्यही बेला उनका दुई नाबालक छोराको अनुहार आँखा अघिल्तिर नाच्न थाले । मर्ने चाहना शवबाटै निस्किएको धूवाँको मुस्लोझैं आकाशमै हरायो । तर बाबाको कोठाबाट निस्किँदा उनको मनमा उठेका दुई प्रश्न मनमै रहे, ती प्रश्नको आगोले उनी भित्रभित्र जलिरहेकी थिइन् ।
यिनै प्रश्नहरूको भारीले थिचिएर उनी काठमाडौं फर्किइन् । फर्किएकै भोलिपल्ट नजिकै मेडिकल सञ्चालन गर्ने एकजना दिदीलाई फोन गरिन्, जो उनीसँगै आश्रम गइरहन्थिन् । उनले पहिलोपटक ती दिदीलाई घटनाको बेलिविस्तार लगाइन् । दिदीले उनको कुरा पत्याइन् तर ‘भगवान्ले प्रारब्ध मेट्न’ त्यसो गरेको हुन सक्ने भन्दै कतै नबताउन सुझाव दिइन् ।
आफ्नो शरीर परीक्षणका लागि अस्पताल लैजान जिद्दी गरेपछि ती दिदीले उनलाई क्षेत्रपाटी अस्पताल लैजाने भइन् । कात्तिक ७ गते दिउँसो २ बजेको टिकट काटेर अस्पताल पुगेका उनीहरूको कुरा सुनेपछि डाक्टरले उपचार गर्नै मानिनन् ।
बरु यस्ता घटना बाहिर नल्याउन सल्लाह दिइन् । ‘यस्तो विषय हल्ला गर्न हुन्न, समाजले के भन्छ रु श्रीमान्ले छोडिदिए भने के हुन्छ रु’ ती महिला डाक्टरले भनेको उनले सुनाइन् । डाक्टरले परीक्षण गर्न नमानेपछि उनी टिकट काटेको पैसा फिर्ता लिएर फर्किइन् । मेडिकलकी ती दिदी घरीघरी उनलाई ‘भगवान्को साक्षात्कार हो, बाहिर हल्ला गर्दै नगर्नू’ भनेर सम्झाइरहन्थिन् ।
उनले आश्रममै गइरहने गीता गुनी भन्ने अर्की साथीलाई यही घटना बताउन पशुपति मन्दिर लगिन् । ‘मेरो कुरा यत्तिकै पत्याउँदिनन् भनेर पशुपति साक्षी राख्न त्यहाँ लगेकी हुँ,’ उनी भन्छिन् । गीताले पनि उनलाई कतै कुरा नफुत्काउन सल्लाह दिइन्, कसम नै खुवाइन् । अहिले तिनै गीता सिद्धबाबाको बचाउ र उनका विरुद्धमा बोल्न थालिसकेकी छन् ।
बालाजुको आश्रममा पुगेर अर्की एकजना दिदीसँग भेटिन् र आफ्ना कुरा राखिन् । ती दिदीले सम्झाएपछि बल्ल उनमा साहस भरियो । ‘सिद्धबाबा भगवान् हो भन्ने भ्रम आफ्नो दिमागबाट निकाल, आफ्नो परिवार सम्हाल,’ ती दिदीले भनेको सम्झिँदै उनी बताउँछिन्, ‘त्यसले श्राप दिन सक्दैन, दियो भने पनि लाग्दैन ।’
कान्तिपुर दैनिकमा खबर छ ।