Logo
३ आश्विन २०८१, बिहीबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल भारत सम्बन्धका जानकार डिपि त्रिपाठीको निधन, निधि दिल्ली जादै

भारतको राष्ट्रवादी कंग्रेस पार्टीका महासचिव, पूर्व सांसद एवं नेपाल भारत सम्बन्धका जानकार देवीप्रसाद (डिपी) त्रिपाठीको बिहीबार दिल्लीमा मृत्यु भएको छ ।

लामो समयदेखि क्यान्सरका विरामी ६७ वर्षीय त्रिपाठीले २०७४ चैत दोस्रो साता राज्यसभाको अन्तिम कार्यकाल पूरा गरेका थिए । २०४६ सालको पञ्चायतविरोधी जनआन्दोलन र २०६२-६३ को जनआन्दोलनका पक्षमा त्रिपाठीले दिल्लीको राजनीतिक बृत्तमा माहौल बनाएका थिए भने काठमाडौंमै आएर सहभागी पनि भएका थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी हुँदै राष्ट्रवादी कंग्रेसमा उनी क्रियाशिल थिए ।

त्रिपाठी नेपालमा कांग्रेस, कम्युनिष्ट, राजावादी राजनीतिक बृत्तमा परिचित छन् । उनलाई नेपाली कांग्रेसले अझ निकट मित्रका रुपमा लिने गरेको छ ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले त्रिपाठीको निधनप्रति शोक प्रस्ताव पारित मात्र गरेन, अन्त्येष्टिमा सरिक हुन उपसभापति विमलेन्द्र निधिलाई दिल्ली पठाउने निर्णय गरेेेकाे छ । निधि शुक्रबार यही प्रयोजनका लागि दिल्ली उड्दैछन् ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि नेपालका मित्र गुमेको भन्दै ट्विटरमा शोक सन्देश लेखेका छन् । आचार्य पनि त्रिपाठीको अन्त्येष्टिमा सहभागी हुनेछन् ।

नेपालमा २०७२ असोजमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएपछि चर्को विरोधमा उत्रेका थोरै भारतीय नेतामध्ये त्रिपाठी अग्रस्थानमा थिए ।

भारतको राज्यसभाका सांसद रहेका त्रिपाठीले अन्तराष्ट्रिय मामिलामा छलफल हुने सबै समिति र बैठकहरुमा नाकाबन्दी गरेकोमा मोदी सरकारको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्