शहरमा छाउपडीको अवस्ठा झनै विकराल
सुमित्रा क्षत्रीको बाल्यकाल र किशोरावस्था पर्वतको बिहादीमै बित्यो । पहिलोपटक महिनावारी छाउ हुँदा उनी गोठमा बसिन् । ‘आमाले बार भनेपछि हामीले त्यही गर्यौं,’ अहिले तिलोत्तमा–६ मा बस्दै आएकी ४२ वर्षीया उनले भनिन्, ‘समाजले नै त्यस्तै चलन बसाएको थियो । मकैका खोस्टामा सुत्थ्यौं, पालैपालो कुर्न आउँथे । खाली गोठमा राख्दा दिउँसै डराएर भागूँझैं हुन्थ्यो ।’
उनकी ६५ वर्षीया आमा खगिसरा भुजेल भने आफ्नो पालामा जस्तो थियो, छोरीलाई पनि त्यस्तै गर्न लगाएको बताउँछिन् । ‘परम्परादेखि चलेकाले गरायौं,’ उनले भनिन्, ‘अहिले त सुविधा छ नि, हाम्रा पालामा त धेरै दुस्ख बेहोर्नुपर्यो ।’ हिँड्दा हिँड्दै रगत थाम्न राखेको कपडा झरेर उठाउनु न छोड्नु भएको उनलाई अझै सम्झना छ ।
पहिलोपटक महिनावारी हुँदा उनी ११ दिनसम्म गोठमा बसेकी थिइन् । ‘दुई दिनसम्म बाटोमा हिँड्न दिँदैन थिए । हिँड्यो भने बाटै भासिन्छ भन्थे,’ उनले भनिन्, ‘तर भासिएको देखिएन ।’ अहिले भने महिनावारीका बेला महिलालाई केही छुट दिन थालिए पनि भान्सा र पूजा कोठामा प्रवेश नदिने गरेको उनको भनाइ छ ।
सुमित्राकी सासू टिकीसराको भोगाइ पनि उस्तै छ । ‘भगवान्का पालादेखि चलिआएको परम्परा मान्नुपर्छ,’ ६८ वर्षीया टिकीसराले भनिन्, ‘आजकालकाले बार्न खोज्दैनन् ।’
उनका माइला छोरा–बुहारी बेलायतमा छन् । उनीहरू छाउ बार्दैनन् । उता जाँदा आपत्ति नजनाउने टिकीसरालाई घरमा नातिनी र बुहारीले भान्सा र पूजा कोठा नछोइदिए हुन्थ्यो भन्ने लाग्छ ।
नातिनी समीक्षा हजुरआमाको मन राख्नकै लागि भान्सा र पूजा कोठामा पस्तिनन् । ‘सफा भएर बसेपछि सहजै हुन्छ,’ उनले भनिन्, ‘आमा–हजुरआमाले बार्दै आएकाले त्यसरी नै अनुसरण गरियो ।’ कलेजमा पनि सेनेटरी प्याड उपलब्ध भएकाले पहिलेका पुस्ताले जस्तो अप्ठ्यारो नपर्ने उनको अनुभव छ ।
कान्तिपुर दैनिकमा खबर छ ।