मन्त्री र सांसदबीच हातपात भन्दै आएको समाचार गलत : राज्यमन्त्री यादव
प्रदेश २ स्थित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले उनीमाथी हातपात भएको भन्दै यसअघि आएका समाचार गलत भएको बताएका छन् । उनले बिभिन्न संचारमाध्यमहरको समाचारमा खबर आएजस्तै मलाई कसैले दुरब्यवहार नगरेको बताएका हुन् ।
उनले आफ्नो फेुबुकमा लेखेका छन् ‘मंगलबार प्रदेशसभा बैठकपछि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथी पछिल्लो आर्थिक बर्षको प्रदेश सरकारले गर्ने बक्यौताको भुक्तानीलाई लिएर प्रदेश सांसदले हातपात गरेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ । गत वर्षको निकासा सम्बन्धमा उठेको विषयमा भनाभन भएकै हो तर हातपात वा थप्पड भन्ने केही छैन । अन्यथा लेखिएको सबै समाचार गलत हो ।’
सामान्य भानभन भएको विषयलाई लिएर ‘कुटाकुट’ भन्दै समाचार प्रकाशित भएको भन्दै प्रदेश नम्बर २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले आपत्ति समेत जनाएका छन् ।
मंगलबार प्रदेश नम्बर २ को संसद बैठक सुरु हुनुअघि विभिन्न उपभोक्ता समूहहरुले प्रदेशसभा कार्यालय अगाडि प्रदर्शन गरेका थिए । सोही क्रममा संसद प्रवेश गर्ने क्रममा असन्तुष्ट समूहहरुलाई राज्यमन्त्री यादवले प्रक्रिया पुर्याएर प्रदेश सरकारले भुक्तानी गर्ने आश्वासन दिइरहेका थिए ।
‘त्यसैबेला आइपुगेका काँग्रेसका प्रदेश सांसद प्रमोद यादव र प्रमिला दास पनि उपभोक्ताहरुसँगै नाराबाजी गर्न थाले । उनीहरुले मन्त्रीले झुठ बोलेको समेत भने । तर कुनै हात हालाहाल भएको होइन । सामान्य भनाभन भएको हो,’ राज्यमन्त्री यादवले भने ।
प्रदेश सरकारले विभिन्न विकासे कामको आर्थिक बर्षको झण्डै ९१ करोड बाँकी छ । सोही विषयलाई लिएर उपभोक्ता समूहहरुले प्रदर्शन गरेका हुन् ।
उक्त भुक्तानी विभिन्न कानुनी कारणले रोकिएको मन्त्री यादवको भनाइ छ । सरकारले प्रक्रिया अन्र्तगत भुक्तानी प्रयास गरिरहेको बताएपनि काँग्रेस सांसदहरुले त्यसैलाई विषय बनाएर सदन अवरोध गर्दै आएका छन् ।
यता, प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि आफूले पहल गरिदिन आग्रह गरेको र त्यसक्रममा मन्त्री रायले दुव्र्यवहार गर्दै जथभावी बोलेकाले चर्काचर्की भएको बताइन् ।
राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका हुन् भने प्रदेसभा सदस्य दास नेपाली काँग्रेसको समानुपातिक कोटाबाट मनोनित भएकी हुन् ।दासले आफलाई दुव्र्यवहार गर्दा आफूले हात देखाएको मात्रै बताइन् ।