साउदीमा रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने निकर्ष
साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ ।
साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा दिन आनकानी गर्ने गरेका छन् ।
लामो समय काम गरेका नेपालीको सेवा सुविधा रकम धेरै हुने गरेको कारण रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने गरेका हुन् ।
‘लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीले विभिन्न बहानामा लामो सेवावापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौंको तलब नदिने, आकामा नवीकरण नगरिदिनेलगायतका प्रवृत्तिहरु धेरै देखिएको छ,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘यस्ता समस्याका बारेमा चनाखो भई आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र सोको जानकारी दूतावासमा गराउन अनुरोध छ ।’ यो खबर आजको कारोबारमा छ ।