Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुरमा ७० प्रतिशत चिनियाँ पर्यटक

तनहुँ- ‘पहाडकी रानी’ नामले परिचित तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ।

चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन बढेको हो।

बन्दीपुर घुम्न आउने पर्यटकमध्ये ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष वैश गुरुङका अनुसार बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० भन्दा बढी चिनियाँ छन्। उनले चिनियाँका अतिरिक्त भारतीय र युरोपेली मुलुकका पर्यटक पनि बन्दीपुरमा आएको जानकारी दिए ।

अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए।

आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ। “बन्दीपुरमा अहिले स्वदेशीभन्दा विदेशी पर्यटकको चाप बढी छ,” गुरुङले भने ।

बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन्। बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीसमेत आउने गरेका छन् ।

बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छन्।

ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करिब १५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ। यहाँ ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट देखिने हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिन्छ ।

सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँ बताउँछन् ।

उनका अनुसार यहाँ आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । “दुई/तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किँदैनन्,” उनले भन े।

यहाँ रहेका परम्परागत घरका कारण पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले बताए। काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँटा बाहिर देखिने प्यागोडा शैलीका घर यहाँको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ ।

अठारौं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुंगा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्