पाँच दिनमा २७ करोड रुपैयाँको नौ किलो कोकिन बरामदः प्रेमी–प्रेमिका नै भरिया
प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो । सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ ।
बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झन्डै २७ करोड रुपैयाँ पर्छ ।प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
यी तथ्यले नेपाललाई ‘ट्रान्जिट’ बनाई कोकिन तस्कर गर्ने समूह एउटै रहेको प्रहरीको दाबी छ । ‘गत मंगलबार बरामद भएको कोकिनको तस्करी शैली र पछिल्लोपटक बरामद कोकिनको तस्करी शैली एउटै छ ।
तस्करीका लागि प्रयोग गरिएका भरिया र आयात गरिएको मुलुकसमेत एउटै छ । नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्कर गर्ने समूह एउटै भएको यसले पुष्टि गर्छ,’ ब्युरोका एसएसपी वसन्त लामाले भने ।
प्रहरीले गत मंगलबार ४१ वर्षीया हेरा आर्तेगा र शनिबार रोबर्ट कार्लोस मेरुबिया मारियस र रुल जाम्ब्रना अर्डेनेजलाई पक्राउ गरेको हो । उनीहरू बोलिभियन नागरिक हुन् । पक्राउ परेका तीनैजना ब्राजिलबाट कोकिन बोकेर नेपाल आएका थिए ।
प्रेमी–प्रेमिका नै तस्करका भरिया
प्रहरीले शनिबार ब्राजिलबाट ल्याइएको ६ किलो कोकिन रोबर्ट कार्लोस र रुल जाम्ब्रनासँग बुझेर हङकङ लैजान लागेका बेलारुसका नागरिक पाभेल भसिलयु र एलिना अल्डोसेनालाई पक्राउ गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।