भारतको तुलनामा हाम्रो अर्थ व्यवस्था राम्रो छ : बंगलादेशका विदेशमन्त्री
एजेन्सी : बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनले भारतीय नागरिकहरु राम्रो अर्थव्यवस्थाका कारण र नि:शुल्क भोजन पाइने भएकाले आफ्नो देशमा आउने गरेको बताएका छन् ।
‘भारतीय मानिसहरु बंगलादेशको अवस्था अति राम्रो भएकाले यहाँ आउँछन् । हाम्रो अर्थव्यवस्थाको अवस्था मजबुत छ । जो यहाँ आउँछन् उनीहरुले काम पाउँछन् । बाहिरबाट आउने मानिसलाई यहाँ निःशुल्क खान मिल्छ’, डा. मोमेनले भने ।
‘भारतीयहरु यिनै कारणले बंगलादेशप्रति आकर्षित भइरहेका छन् । भारतको तुलनामा हाम्रो अर्थ व्यवस्था राम्रो छ । भारतीयहरुले आफ्नो देशमा काम नपाएकाले बंगलादेश आइरहेका छन् । केही बिचौलियाहरुले गरिब भारतीयलाई बंगलादेशमा निशुल्क खान पाइन्छ भन्छन्’, उनले थपे ।
विदेशमन्त्री मोमेनले बंगलादेशमा अवैध रुपमा बस्ने भारतीयलाई स्वदेश फिर्ता गरिने समेत बताए । भारतमा समेत अवैध रुपमा कुनै बंगलादेशी बसेको भए फिर्ता बोलाउने उनले बताए । त्यस्तै भारत र बंगलादेशको सम्बन्ध असल र सुमधुर रहेको समेत मोमेनको भनाइ छ । ‘हामीबीचको सम्बन्ध निकै मधुर छ । सम्बन्धलाई लिएर निराश हुनुपर्ने कुनै कारण छैन’, उनले भने ।