पत्रकार काफ्लेमाथि आक्रमण गर्नेलाईं अनुसन्धान गर्न ७ दिनको म्याद, आँखाको अप्रेसन हुँदै
समाचार संकलन गर्न ढिलो पुगेको निहुँमा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका पत्रकार सन्तोष काफ्लेलाई आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय धरानले वडा नं. १० का नरेश शाही ठकुरी, धरान वडा का ४ दीपक राई, वडा नं. १५ की संगीता राई र सोही वडाका तुलसीप्रसाद विकलाई पक्राउ गरि अनुसन्धान थालेको हो । पक्राउ परेका चारै जनालाई कुटपिट तथा अंगभंगमा अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले प्रहरीलाईं सात दिनको म्याद दिएको हो । पत्रकार काफ्लेलाईं आक्रमण गर्ने थप दुई जनालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको अदालतका प्रवक्ता गोपाल गिरीले बताए ।
धरानको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिले हिजो दिउँसो (विहीबार) पत्रकार काफ्लेलाई पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै आक्रमण गरेका थिए । आक्रमणबाट काफ्लेको आँखा र नाकमा गम्भीर चोट लागेको छ। आक्रमणपछि उनलाई बिजयपुर हस्पिटल र त्यसपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
आँखामा जटिल समस्या देखिएपछि आज (शुक्रबार) विराटनगरको रानीस्थित विराटनगर आँखा अस्पतालमा उपचार गर्न लगिएको छ । पत्रकार काफ्लेको आँखाको नसा चुटिएकोले गर्दा अप्रेसन गरिनेछ । उनको उपचारमा पत्रकार महासंघ जिल्ला शाखा सक्रियपूर्वक लागेको छ। उपचारमा कार्यसमितिकै व्यक्ति खटिएका छन् । उनको उपचारका लागि महासंघ जिल्ला शाखाले प्रदेश र केन्द्रीय कार्यसमितिसँग पनि आवश्यक समन्वय गरेको छ।
पत्रकार काफ्लेमाथि भएको आक्रमणलगतै नेपाल पत्रकार महासंघ सुनसरी शाखा र स्वतन्त्र पत्रकार संघले घटनाको भत्र्सना र निन्दा गर्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न जोडदार माग गरिएको थियो । साथै, प्रेसको संवैधानिक अधिकार सम्मान गरि निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गरिएको थियो । विज्ञप्तिबाहेक महासंघ जिल्ला शाखाले स्थानीय प्रहरी–प्रशासनसमक्ष घटनाका दोषी अबिलम्ब पक्राउ गर्न भनेको थियो । प्रहरी पनि सक्रिय रुपमा जुटेर पत्रकार काफ्लेमाथि आक्रमण गर्नेलाई पक्राउ गरेको हो । पत्रकार काफ्लेमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको नेतृत्व टोली खटिएको थियो ।
सहकारी संस्थाको करोडौं रुपैयाँ ठगी गरी फरार भएका सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकबिरुद्ध ठगीमा मुद्दा दर्ता भएर पुर्पक्षका लागि जेल चलान भएका छन् ।