१३ औँ SAG आज सकिँदै, यस्तो छ तयारी
काठमाडौं : नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज (मंगलबार) सकिँदैछ । मंसिर १५ बाट सुरु भएको साग आज दशरथ रंगशालामा समापन हुने भएको छ ।
साग काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको थियो । दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएको प्रतियोगितामा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य लिएको थियो ।
दक्षिण एसियाकै प्रतिष्ठित खेलकुद प्रतियोगिताको रुपमा रहेको साग सन् १९८४ मा नेपालबाट सुरुआत भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक नेपालले आयोजना गरेको थियो । प्रतियोगितामा कुल ३ सय २४ स्वर्णसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो । पदक तालिकामा अन्तिमदिन सम्म भारत १ सय ७२ स्वर्णसहित शीर्ष स्थानमा छ । आयोजक नेपाल ४९ पदकसहित दोस्रो स्थानमा छ ।
अन्तिम दिन फुटबल खेलको फाइनलसँगै साग समापन हुने राष्ट्रिय खेलकुद परिष्द राखेपले जनाएको छ । साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई युवा तथा खेलकुद मन्त्री, ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिवले सम्बोधन गर्नेछन् ।
५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने छन्। त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।
समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए।
सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा वर्गिकरण गरी व्यवस्थित गरिने राखेपले जनाएको छ।
प्याराफिटमा भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था गरिने भएको छ। फुटवल प्रतियोगिताको फाईनल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ।
उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ। ती टिकटहरु बिक्री भैसकेका छन्।