गौरीकाको कीर्तिमानसँगै नेपाललाई स्वर्णपदक, जुडोमा पनि स्वर्ण
पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद SAG मा अर्को स्वर्णपदक हात पार्नुभएको छ । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गर्नुभएको हो ।
उहाँले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाउनुभएको हो । यससँगै उहाँले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गर्नभएको छ ।
यसअघि उहाँले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गर्नुभयो ।
तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गर्नुभयो ।
जुडोमा नेपाललाई स्वर्ण
तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ ।
लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आइतबार भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।
खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पार्नुभएको हो । उहाँ त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुग्नुभएको थियो ।