राजपा नेपाल र समाजवादी पार्टीबीच तत्काल एकताको कुनै सम्भावना छैन : राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले राजपा नेपाल र समाजवादी पार्टीबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
अध्यक्ष मण्डलको संयोजक भएपछि आफ्नो निर्वाचन क्षेत्र धनुषा क्षेत्र नं. ३ मा आउँदा जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नरहेको बताएका छन् ।
उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।
अहिलेको अवस्थामा देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने महतोको भनाई छ ।
महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरेका छन् ।
आफूहरु सरकारमा नरहेकोले अहिले भएको मन्त्रीमण्डल पुनर्गठनको विषयमा कुनै टिप्पणी नगर्ने उनले बताए । ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन’, उनले भने ।
राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।