मन्त्रिपरिषद पुनर्गठन तयारी : उपेन्द्र यादव सम्पर्कबिहिन, स्वास्थ्य राज्यमन्त्री असपताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहँदा सरकारको अर्को घटक समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने सम्पर्कबिहिन बनेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले धरै सम्पर्क गर्ने प्रयास गरेपनि उनी सम्पर्क बिहिन छन् । स्वास्थ्यमन्त्री समेत रहेका यादवको मन्त्रालय समेत यतिबेला बेहाल स्थितीमा रहेको छ ।
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पनि केहि दिनदेखि बिरामी रहेका छन् । उनी काठमाण्डौं स्थित वीर अस्पतालमा उपचाररर्थ छन् ।मन्त्रीपरिषद फेरबदल हुने चर्चा चलिरहँदा उपप्रधानमन्त्री यादव केहिदिन अघि दिल्ली गएका थिए ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएका बताएपनि सो कार्यक्रममा उपसचिव स्तरको अधिकारी जाँदा पनि हुने स्थिती रहेको थियो ।
यद्यपि उक्त कार्यक्रमको समयअवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने जानकारी मन्त्रालयले प्रधानमन्त्रीको सचिवालयलाई दिएको छ ।
यादव दिल्लीमा राजनीतिक भेटघाटको प्रयासमा रहेको बुझिएको छ। उनले व्यक्तिगत सम्पर्कका आधारमा नयाँ दिल्लीमा सत्तारूढ़ भाजपा नेताहरूसँग भेटघाटको प्रयास गरिरहेका छन् ।
तर सत्तारूढ़ भाजपाका नेताहरू भने यादव सहित समाजवादी पार्टीका अर्का अध्यक्ष डा बाबूराम भट्टराई प्रति भने निकै सशंकित रहेका छन् ।
भारतको जम्मू कश्मीरमा हटाईएको धारा ३७० प्रति नेपालमा सबैभन्दा पहिले विरोध गर्नेमा समाजवादी पार्टी नै थियो भने समाजवादीका अध्यक्ष भट्टराईले ट्वीट गरेर १७ पटक आफ्नो विरोध जनाएका थिए ।
साथै पछिल्लो समय भारतले जारी गरेको नक्शामा समाजवादी पार्टीका विद्यार्थी संगठनले सबैभन्दा पहिले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको पुतला जलाएका थिए ।
भारतीय दूतावास अगाडि भारतको नक्शा जलाउनेदेखि लिएर मोदीको फोटोमा जुता चप्पलले हानेर विरोध प्रदर्शन गर्ने समाजवादी पार्टी नै हो । समाजवादी पार्टीको पछिल्लो गतिविधिबारे अवगत रहेका भाजपाका शीर्ष नेतृत्वले उपेन्द्रमाथि पटक्कै विश्वास गरेका छैनन् ।
यद्यपी यादव भने यीनै क्रियाकलापहरुबारे सफाई दिन र आफू भारत विरोधी नभएको विश्वास दिलाउन भारत भ्रमणमा गएको बताइएको छ । यता उनको निजि सचिवालयका समेत कोही पनि ब्यक्तिहरु भने सम्पर्कमा आएका छैनन् ।