Logo
१ मंसिर २०८१, शनिबार
(November 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिपरा गाउँपालिकामा उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै

जलेश्वर महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वा्चित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन भएपछि त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।

पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्छु भन्ने विश्वास देखिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वा्चित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताछन् ।

अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् ।
अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उनी आफ्नो जीत सुनिश्चित हुने ठान्छन् ।

चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिनुभएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गरेका छन् ।

मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चाैतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनी दाबी गर्छन् । यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ ।

पिपरा गाउँपालिकामा सात वटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।

प्रकाशित मिति: Nov 17, 2019

प्रतिक्रिया दिनुहोस्