अब चीन विरुद्ध आन्दोलन : नेपाली भूमि फिर्ता माग्दै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
चीनले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै प्रदेश २ स्थित सर्लाही जिल्लामा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरिएको छ।
स्वतन्त्र युवा समूहको ब्यानरमा स्थानीय युवाहरुले आइतबार साँझ सर्लाहीको मंगलवामा राष्ट्रपति सीको पुत्ला जलाएका हुन्।
यसअघि मधेस आन्दोलनमा चीनको झण्डा जलाइएको मधेसमा पहिलोपटक चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरिएको छ।
युवाहरुले पुत्ला दहन कार्यक्रममा ‘गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर’ नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए।
भारतले कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समावेश गरेर नेपाली भूमि हडप्न खोजेको भन्दै प्रदर्शन चर्किएका बेला तराईमा चीनविरुद्ध पनि विरोध सुरु भएको छ।
चीनले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका ११ ठाउँमा सीमा मिचेको तथ्यांक छ।