दूतावास नजिक होटेल एम्बेसडर अगाडी विद्यार्थीले जलाए भारतको विवादित नक्सा
नेपाली भूमि लिपुलेकलाई भारतले आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा रहेको होटेल एम्बेसडर अगाडी नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन् ।
भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए ।
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ ।
नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।
नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् ।
तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।
भारतीयमा काठमाडौंमा नेविसंघको प्रदर्शन
यसैबीच भारतीय नक्साको विरोधमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्रदर्शन गरेको छ ।पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।
चाबहिल चोक हुँदै पुनः क्याम्पस नै आएर कोणसभामा परिणत भएको सभालाई सम्बोधन गर्दै नेविसंघ नेता प्रेम जोशी, लीलावल्लभ दाहाल, मनोज वैद्यलगायतले नक्सा सच्याउन माग गरे ।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।