Logo
१० माघ २०८१, बिहीबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास निर्माणमा सक्रिय जनसहभागिता जरुरी : मन्त्री अर्याल

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता जरूरी रहेको बताएकी छिन् ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आज बिहिवार मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

हामी यहीँ बसिरहेकाले परिवर्तनको अनुभूति गर्न नसकेपनि बाहिरबाट आउनेहरूले केही न केही परिवर्तनको अनुभूति गरेको मन्त्री अर्यालले बताइन् । अबको यात्रा भनेको समाजवादउन्मुख यात्रा भएको भन्दै उनले त्यसैले अब हरेक क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम चाहिने बताइन् ।

मन्त्री अर्यालले सहकारी संस्थाहरु पनि समृद्धिलाई अगाडि बढाउने दिशातर्फ हुनुपर्ने बताइन् । तपाइहरूसँग पूँजी र मानवस्रोत पनि प्रशस्त छ । त्यो स्रोतलाई उत्पादनमा, उद्योगमा लगाउनुस् , मन्त्री अर्यालले भनिन् सहकारीसँग धेरै सामर्थ्य छ । सामर्थ्य अनुसार काम गर्नुस् ।

विकासको ठेक्का सरकारको हो भन्ने मानसिकता हामीमाझ रहदासम्म प्रगति गर्न नसकिने भन्दै उनले हरेकको विकास निर्माणमा सहभागीता हुनुपर्ने बताइन् । सरकारले योजना दिन्छ र केही रकम दिन्छ । त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौं । हामीले रिजल्ट पाउन सक्दैनौं, उनले भनिन् ।

समृद्धिको यात्रा जनस्तरबाट शुरु गर्ने कार्यको थालनी गर्नुपर्ने भन्दै उनले विकास निर्माणमा सक्रिय जनसहभागीता हुनुपर्ने बताए । सहकारीको ठूलो मेनपावरलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने भन्दै उनले सबैभन्दा बढी गरिब भएका स्थानहरु छानेर सहकारीले गरिबी उन्मुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

अहिले पनि १७.७५ गरिब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरिबी उन्मुलनमा सहकारीको पनि भूमिका हुनुपर्ने बताइन् ।
मन्त्री अर्यालले केही काम गर्नका निम्ती सहकारी तथा नीजि क्षेत्रलाई कानुनमा रहेका बाधा सरकारले फुकाउने बताइन् ।

सहकारी फार्म, कृषि फार्म, उद्योग खोल्नका निम्ती कानुनमा रहेको समस्यालाई सरकारले फेर्दै गएको उनको भनाइ थियो । हिजोका विकास विरोधी कानुन परिवर्तन गर्दै विकासमैत्री कानुन सरकारले निर्माण गरेको छ । अझैपनि केही समस्या भएमा हामी त्यसलाई परिवर्तन गर्छौ, मन्त्री अर्यालले भनिन् ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्