फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पको धक्का महसुस
दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । ६.४ म्याग्नीच्यूड रहेको यो भूकम्प फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा महसुस गरिएको हो ।
यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा उक्त भूकम्पका कारण सुनामीको खतरा भने नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो ।
फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे आएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराईमा रहेको थियो ।
प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति नभएको फिलिपिन्सका उद्धार अधिकारीहरुले जनाएका छन् । तर भूकम्पका परकम्पन आउनेक्रम भने जारी नै रहेको छ ।
फिलिपिन्सका किडापावान, डाभाओ, सारानगानी, जेनेरल सान्तोस, कागायान डी ओरो, जिनगूग र बिसलिग शहरमा पनि अनुभव गरिएको थियो ।