पाकिस्तान भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेकोे छ । गत मङ्गलबार गएको भूकम्पमा ३८ जनाको मृत्यु हुनुका साथै करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ ।
भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । पूर्वी पाकिस्तान र भारतमा समेत झट्का महसुस भएको थियो ।
मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ । (एएफपी/ददअ)