Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औरावनीलाई बाल विवाह  मुक्त गाउँ बनाउने गढी गाउँपालिकाको प्रतिवद्धता

इनरुवा :  सुनसरीको गढी गाउँपालिका -२ औरावनीलाई बाल विवाह  मुक्त गाउँ तथा वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । औरावनीमा वडा कार्यालयको सहयोगमा साझेदारी नेपालले आयोजना गरेको बाल विवाह उन्मुलन तथा अनुगनम कार्यक्रममा बालबिवाह नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पाँच बुदे प्रतिवद्धता पत्र जारी गर्दै सहभागीहरूले बालविवाह नगर्ने र गाउँमा गर्न पनि नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रम हुनु अघि झण्डै एक सयको हाराहारी संख्यामा भेला भएका महिला, किसोरकिसोरी र बालबालिकाहरूले बाल संरक्षण, हक र अधिकार झल्कने विभिन्न नारा समेत लगाएका थिए ।

‘सानै छु म, ठूलै छ इच्छा बाल विबाह हैन पढ्ने छ इन्छा’, बाल विवाह रोकौँ, सानै छु म बढ्न देउ, बाल विवाह होइन पढ्ने देउ जस्ता नारा लगाउदै कार्यक्रम सुरु गरेको थियो । गाउँमा रहेको ऋषिदेव, थारु र मुस्लिम समुदायहरुले बाल विवाह विरुद्धका लागि गरेको प्रतिवद्धता वडा क्षेत्रमा यो एक उपलब्धीपूर्ण काम भएको वडा सदस्य अमिनिदेवी चौधरीले बताए ।

सुनसरीमा पछिल्ला वर्षमा अभिभावकले भन्दा पनि बालबालिका आफैले १४- १८ वर्षको स्कूले उमेरमै आफू खुसी विवाह गर्ने वा भागी विवाह गरेको स्थितिलाई रोक्नका लागि यो उपयुक्त र प्रभावकारी कार्यक्रम हुने देखिएको कार्यक्रममा सहभागी हुन आउनु भएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।

भेलामा सहभागी हुन आएका महिला, किसोरी तथा बालबालिकाहरू आफैले आ-आफ्नो गाउँटोल र वडाको प्रतिवद्धालाई घोषणापत्र मार्फत गरी घोषणा गरेका थिए ।

प्रविद्धता सहित जारी गरिएको गढी घोषण पत्रमा बाल मैत्री वडा घोषणा गर्ने, बालविवाह मुक्त वडा घोषणा गर्ने, स्थानीय तहको बजेट प्रत्यक्ष बालहितमा उपयोग गर्नुपर्ने, बाल संरक्षण रणनीति र कार्यक्रम तयार गर्ने, बालअधिकार तथा जीवन उपयोगी तालिम दिनुपर्ने विषय समेटिएको छ ।

त्यसैगरी घोषणा पत्रमा बाल विवाह गरेको वा गर्न लागेको सूचना प्रहरी वा स्थानीय तहलाई दिने, घर, समाज र विद्यालयमा बालदुव्र्यवहार हुन नदिने, नियमित बालबालिकाहरुलाई विद्यालय पठाउने र शिक्षामा लगानी गर्न उत्प्रेरित गर्ने, अशक्त र गरीबीका कारण स्कूल जान नसक्नेलाई उचित वातावरण निर्माण गर्ने, बालविवाह गर्न हुँदैन भनेर सचेतनाका कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

समापन कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, वडा अध्यक्ष अरुणकुमार चौधरी, वडा सदस्य गुदनसरी ऋषिदेव, अमिलाल चौधरी र वडा सचिव योगराज निरौला लगायतकाले यस प्रकारको कार्यक्रम सञ्चालन गरी पालिकालाई नै बालविवाह मुक्ता गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रशिक्षक पवन रौनियार, अरविन्द यादव, मिना साह लगायतकाले सहजिकरण गरेका थिए । यसैबीच वडामा बाल विवाह रोक्ने अभियानलाई सार्थक पार्न ९ सदस्य निगरानी समूह समेत गठन गरेको छ ।

निगरानी समूह सिता ऋषिदेवको अध्यक्षतामा गठन गरिएको छ । समूहको सचिवमा आरती चौधरी, सदस्यहरुमा सदिना खातुन, सुमित्रा ऋषिदेव, मंगली ऋषिदेव, लक्ष्मी चौधरी, मरियन खातुन सहितका रहेका छन् ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्