Logo
८ मंसिर २०८१, शनिबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चालक समितिले एकाएक सामुदायिक रेडियो पौरखीमा लगायो ताला

बाजुरा : बाजुरा सदरमुकाममा विगत ७ वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ ।

सहकारीमार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् ।

शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताए ।

उनले समितिका अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनौँ, अनिश्चितकालसम्मका लागि तालाबन्दी गर्छाैं’ भन्दै रेडियोमा ताला लगाएको बताए ।

सहकारीका करीब पाँच सय जना शेयर सदस्यको रकमले सञ्चालनमा ल्याइएको उक्त रेडियो एकाएक बन्द भएको छ । सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रुपमा रेडियो एकाएक बन्द गर्दा जनतामा नकारात्मक प्रभाव परेको कर्मचारीले बताएका छन् ।

सहकारी तथा रेडियो सञ्चालक समितिका अध्यक्ष यादवले भने कर्मचारीले रेडियो नियमति रुपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए ।

कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । रेडियोमा नियमित रुपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानूनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताए ।

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्