आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि प्रदर्शन (तस्बिरमा)
काठमाडौं । विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् ।
यसअघिका सहमति पूर्णपालना गर्नुपर्ने, यथाशीघ्र ऐन जारी गर्नुपर्ने भन्दै चैत २० देखि उनीहरू माइतीघर-बबरमहल क्षेत्रमा ‘निर्णायक’ आन्दोलनमा होमिएका छन् ।
आज देशभर अधिकांश नयाँ वर्षमा रमिरहेपनि शिक्षकले सडक संघर्ष जारी नै राखेका हुन् ।
महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि निष्कर्ष आएको छैन ।
महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।
आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्तालसमेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।