Logo
९ बैशाख २०८२, मंगलबार
(April 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँको बन्दीपुरमा चितुवा आतङ्क

तनहुँ । बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताए ।

उनले भने, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।”

चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो । फूपुदिदीको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो ।

डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ । त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ ।

प्रकाशित मिति: Apr 14, 2025

प्रतिक्रिया दिनुहोस्