Logo
९ बैशाख २०८२, मंगलबार
(April 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको सुमी सहरमा रुसको भयानक हमला, ३४ जनाको मृत्यु

१ वैशाख, काठमाडौं । युक्रेनको सुमी सहरमा रुसले भीषण हमला गरेको छ । हमलामा परी बालबालिकासहित कम्तिमा ३४ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान सवा १० बजेतिर ब्यालिस्टिक मिसाइलमार्फत् रुसले आक्रमण गरेको हो । त्यतिबेला प्रार्थनाको समय चलिरहेको थियो, बालबालिकाहरु सडकमा खेलिरहेका थिए ।

मिसाइलहरु सुमी राज्य विश्वविद्यालय, त्यसको सम्मेलन केन्द्र, सडक लगायतका स्थानमा खसेका थिए । आक्रमणबाट पाँच वटा अपार्टमेन्ट, चार वटा शैक्षिक संस्था, क्याफे तथा पसलहरू गरी २० वटा भवन क्षतिग्रस्त भएका छन् । सडक ध्वस्त भएका छन् । १० वटा कार र ट्रामहरू पनि जलेका छन् ।

सीएनएनका अनुसार ५२ वर्षीया एक महिलाले भनेकी छन्, ‘मेरी आमाले खाना बनाइरहेकी थिइन् । अचानक विष्फोट भयो । एउटा बाकस मेरी आमाको टाउकोमाथि खस्यो । रगत बग्न थाल्यो । उनी अहिले अस्पतालमा छिन् ।’

बीबीसीका अनुसार रुसले युक्रेनमा गरेको यो आक्रमण सन् २०२५ कै ठूलो हो ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको निन्दा गर्दै अन्य राष्ट्रहरूलाई आक्रमणको विरोध गर्न अपिल गरेका छन् ।

यसअघि करिब १५ दिन अगाडि साउदी अरबमा भएको १२ दिन लामो वार्तामा रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: Apr 14, 2025

प्रतिक्रिया दिनुहोस्