हेटौंडाका सामुदायिक विद्यालयमा सरकारी प्रकाशनका अंग्रेजी पुस्तक मात्र पढाउन निर्देशन
१ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका अंग्रेजी माध्यमबाट पढाइ हुने सामुदायिक विद्यालयमा सरकारी प्रकाशनका अंग्रेजी पुस्तक मात्र लागू गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको आइतबार बसेको ६३औं कार्यपालिका बैठकले सामुदायिक विद्यालयलाई सरकारी प्रकाशनको अंग्रेजी पुस्तक मात्र लागू गर्न निर्देशन दिने निर्णय गरेको हो ।
निजी प्रकाशनका अंग्रेजी पुस्तकको मूल्यमा एकरुपता नभएको, विद्यालयहरुमा पुस्तक लगाउन अस्वाभाविक प्रतिस्पर्धा चलेको र सरकारी प्रकाशनका अंग्रेजी पुस्तकको प्रभावकारिता राम्रो देखिएकाले यो निर्णय लिनु परेको कार्यपालिकाका एक सदस्यले बताए ।
हेटौंडा उपमहानगरभित्र ७० वटा सामुदायिक विद्यालय र ५२ वटा संस्थागत विद्यालय छन्, जसमा ५८ हजार बढी विद्यार्थीहरुले अध्ययन गरिरहेको उपमहानगरका शिक्षा अधिकृत हरिशचन्द्र सापकोटाले बताए ।
हेटौंडाका भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, बालज्योति, सिद्धार्थ, प्रगति, श्रमिक, वंशगोपाल, त्रिभुवन, जनप्रिय, ज्योति माविलगायतका एक दर्जन विद्यालयले अंग्रेजी माध्यममा पढाउँदै आएका छन् ।
विद्यालय पोशाक ५ वर्षसम्म परिवर्तन गर्न नपाइने
यस्तै, विद्यालयले ड्रेस कोड (पोशाक) ५ वर्षसम्म परिवर्तन गर्न नपाइने निर्णय पनि कार्यपालिका बैठकले गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । ‘विद्यार्थीको ड्रेसको रंग एकपटक निर्धारण भएपछि कम्तीमा ५ वर्षसम्म परिवर्तन गर्न नपाइने, सकभर नेपाली उत्पादनलाई जोड दिने र एक विद्यालयमा अंग्रेजी तथा नेपाली भाषामा अध्यापन गरेको भएता पनि एकै प्रकारको मात्र ड्रेस कोड प्रयोग गर्नु पर्नेछ’, उनले भने ।
कार्यपालिकाले बैठकले शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनका लागि कार्यविधि बनाउने निर्णय गरेको छ । कार्यविधिको मस्यौदा तर्जुमाका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा व्यबस्था गरिएको दुई वा दुईभन्दा बढी विद्यालय गाभिएका वा समायोजन भएका स्थानमा आवासीय विद्यालय संचालनका लागि अनुदान दिने निर्णय गरेको छ ।
जनप्रिय माध्यमिक विद्यालय हटियालाई ५ लाख र निर्मल मावि बस्तीपुरलाई ५ लाख अनुदान उपलब्ध गराइने प्रवक्ता न्यौपानेले जानकारी दिए ।
यसैगरी, चालु आवको २८ चैतसम्म उपमहानगरपालिकाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत ५५ दशमलव ९८ प्रतिशत अर्थात १ अर्ब ५९ करोड २२ लाख ५० हजार ५७२ रुपैयाँ आम्दानी गरिएको जनाएको छ ।
४२ दशमलव २३ प्रतिशत अर्थात ९६ करोड १७ लाख ८२ हजार ६७९ रुपैयाँ खर्च भएको प्रवक्ता न्यौपानेले बताए ।
कार्यपालिका बैठकले समावेशीकरण नीति तर्जुमा तथा निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, हेटौंडा उपमहानगरपालिका व्यावसायिक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०८१ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
१२, १३ र १४ का वडा क्षेत्रबाट वर्षाको कारणले गर्दा नदीजन्य पदार्थहरु थुप्रिएर सयौं घर र खेतीयोग्य जमिन क्षति हुने जोखिम बढेकोले नदीजन्य पदार्थ उत्खनन् र संकलनको अनुमतिका लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा अनुरोध गर्ने निर्णय भएको छ ।