सगरमाथा चढ्न लागेकी असईलाई आइजीपीले हस्तान्तरण गरे ब्यानर
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लागेकी प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ।
प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमवार आयोजित कार्यक्रमका बीच प्रहरी सहायक निरीक्षक शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारासहितको ब्यानर हस्तान्तरण गरे।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे। आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उनले कृतज्ञता व्यक्त गरे।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिइन्।