असनमा सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेको भीड
काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आज असनमा बिहानैदेखि सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेहरुको संख्या उल्लेख्य रहेको देख्न सकिन्छ ।
शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो ।
काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करूणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।