तीनकुने आसपासका क्षेत्रमा सभा, विरोध र प्रदर्शनका लागि अनुमति नदिन सरकारलाई निर्देशन
काठमाडौं, २२ चैत । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने र त्यसको वरपरका क्षेत्रमा सभा, विरोध र प्रदर्शनको लागि अनुमति नदिन सरकारलाई निर्देशन गरेको छ । आज (शुक्रबार) बसेको बैठकले गत चैत् १५ गते राजावादी समूहहरुको हिंसात्मक घटनालाई मध्यनगर गर्दै यस्तो निर्देशन गरेको हो ।
‘काठमाडौंको तीनकुने र आसपासको स्थानमा अब कुनै पनि प्रकारका सभा, विरोध, प्रदर्शन गर्न अनुमति नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृहमन्त्रालयलाई निर्देशन गर्दछ,’– समितिका सभापति रामहरि खतिवडाले निर्णय सुनाउँदै भने ।
त्यस्तै, चैत १५ गतेको घटनाको सत्यतथ्य छानविन गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यसमा संलग्न हु्ने व्यक्तिहरुलाई आवश्यक छानविन गरी कानुनी कारबाही अघि बढाउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । आगामी दिनमा यस्ता हिंसात्मक घटनाहरु दोहोरिनबाट रोक्न र यस्ता विषयमा गम्भीरताको साथ अगाडि बढ्न समेत समितिले भनेको छ । समितिले प्रहरी र सुरक्षा संयन्त्रलाई स्रोत साधन सम्पन्न बनाउन पनि गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।